काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज उपत्यकाका विभिन्न सात स्थानबाट एकैसाथ जुलुस निकाल्ने तयारी गरेको छ। राजसंस्थाको पुनःस्थापनाको मागसहितको आन्दोलनलाई तीव्र बनाउँदै राप्रपाले राजधानी केन्द्रित प्रदर्शनको तयारी गरेको हो।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, आन्दोलनको सन्देश फैलाउन र जनसमर्थन जुटाउन उपत्यकाका सात स्थानबाट जुलुस निकालिनेछ। उनले जानकारी दिएअनुसार, प्रत्येक स्थानबाट छुट्टाछुट्टै जुलुस निस्कनेछ र ती सबै मुख्यस्थलमा आएर एकीकृत हुनेछन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं मैतीदेवीबाट सुरु हुने जुलुसमा सहभागी हुनेछन्। श्रेष्ठले भने, “अध्यक्षज्यू मैतीदेवीको जुलुसमा सहभागी हुनुहुनेछ। बाँकी जुलुसहरू पनि निर्धारित स्थानबाट एकैसाथ सुरु हुनेछन्।”
राजसंस्थाको समर्थनमा राप्रपाको नेतृत्वमा आज उपत्यकाभर प्रदर्शन हुने तयारी छ। अन्य समविचारी समूह र राजावादी समर्थकहरू पनि प्रदर्शनमा सहभागी हुनेछन्।
गणतन्त्र दिवसकै दिन आन्दोलनको उद्घाटन गर्दै राजसंस्थाको पक्षमा आवाज उठाउने राप्रपाको रणनीति व्यापक सार्वजनिक चासोको विषय बनेको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया