काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र स्पष्ट दृष्टिकोण नहुने व्यक्तिहरू रहेको टिप्पणी गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले समयअनुसार परिवर्तनलाई आत्मसात गर्न नसक्नेहरू नै निराशाको शिकार हुने बताए। उनले भने, “तत्कालीन एमालेभित्र देखिएको विचार र प्रवृत्तिका विरुद्ध हामी दृढताका साथ उभियौँ। चुनौतीहरू जहिल्यै आउँछन्, तर त्यसले अवसर पनि जन्माउँछ।”
उनका अनुसार अहिलेको परिस्थितिलाई लिएर ‘केही पनि भएको छैन’ भन्ने भ्रमपूर्ण प्रचार गरिँदैछ। भ्रष्टाचारविरुद्ध ठोस कदम चालिएन भने परिवर्तनको अपेक्षित परिणाम आउन नसक्ने उनको तर्क थियो।
“हामीले कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास पुनःस्थापित गर्नुपर्छ,” अध्यक्ष नेपालले भने, “गलत प्रवृत्तिसँग जुध्ने, सकारात्मक संस्कारको विकास गर्ने र सुशासन स्थापना गर्ने काममा लाग्नुपर्छ। गणतन्त्रको विकल्प राजतन्त्र होइन। बाबु नभए छोरा, छोरा नभए नाति, अनि पनातिलाई राजा बनाउने कुरा अब स्वीकार्य छैन।”
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि चुनौती दिँदै भने, “शासन गर्ने इच्छा छ भने जनताको मन जितेर आउनुस्, चुनाव जितेर आउनुस्, प्रधानमन्त्री बनेर देखाउनुस्। प्रतिस्पर्धाबाट अघि बढ्ने आँट गर्नुहोस्। इतिहासको पाङ्ग्रा पछाडि फर्काउनु सम्भव छैन, र हामी त्यो हुन पनि दिँदैनौँ।”
अध्यक्ष नेपालले गणतन्त्र स्थापनामा आफ्नो पार्टी र नेताहरूको अग्रगामी भूमिका रहेको स्मरण गर्दै परिवर्तनको पक्षमा सधैं दृढ भएर उभिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया