काठमाडाैं । सुर्खेतको कर्णाली प्रदेशमा १८औं गणतन्त्र दिवस बिहीबार विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। प्रदेश सरकारको आयोजनामा वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्रबाट र्याली निकाल्दै औपचारिक समारोहको आयोजना गरिएको हो।
समारोहमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, प्रदेशका मन्त्रीहरू, सत्तारुढ नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही, प्रदेशसभा सदस्यहरू, उच्च प्रशासनिक अधिकारीहरू, व्यापारी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति थियो।
गणतन्त्र दिवसको स्मरणमा प्रदेश सरकारले यसअघि नै तीन चरणमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बिहीबार बिहानदेखि विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमहरू सञ्चालन भएका छन्।
नेपालमा २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो। सो ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया