काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि भइरहेका प्रहारहरूका विरुद्ध सबै राजनीतिक शक्ति र नागरिक समाज एकजुट भई प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (माओवादी निकट) द्वारा गणतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित जनसांस्कृतिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा गणतन्त्रमाथि अनावश्यक रूपमा प्रश्न उठाइने र त्यसलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
उनले गणतन्त्र कुनै एउटा पार्टी वा गुटको मात्र होइन, समग्र नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त साझा उपलब्धि भएको स्पष्ट पारे। त्यसैले यसको संरक्षण र सुदृढीकरणमा सबै पक्षको ऐक्यबद्धता अपरिहार्य रहेको उनको भनाइ थियो।
प्रचण्डले वर्तमान अवस्थामा गणतन्त्रको संस्थागत विकास गर्दै समाजवादतर्फको यात्रालाई तीव्र बनाउनुपर्ने चुनौती रहेको उल्लेख गरे। त्यसका लागि सबै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य, एकता र सक्रिय पहल आवश्यक रहेको उनले जोड दिए।
उनका अनुसार गणतन्त्रको रक्षा केवल संवैधानिक व्यवस्था जोगाउने सवाल मात्र होइन, जनताको जीवनस्तरमा ठोस परिवर्तन ल्याउने ऐतिहासिक जिम्मेवारी पनि हो। त्यसैले यो अभियानलाई गम्भीर रूपमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उनले बताए।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया