काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि सुरु भएको संयुक्त जनआन्दोलनअन्तर्गत आजको पहिलो दिनको प्रदर्शनमा सहभागी जुलुसले टुँडिखेलको परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।
देशभरका विभिन्न स्थानबाट आएका जुलुसका समूहहरू राजधानीको रत्नपार्कमा भेला भई टुँडिखेलको परिक्रमा गर्ने योजना छ। आज काठमाडौंका सातवटै स्थानबाट राजसंस्थाको समर्थनमा र्यालीहरू निस्केका छन्।
मैतीदेवीबाट निस्किएको जुलुसको नेतृत्व राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन्। सो जुलुसमा पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि सहभागी छन्। त्यस्तै, सिफलबाट सुरु भएको अर्को जुलुसको नेतृत्व राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीले नारायणचौरबाट नेतृत्व गरेको जुलुस पनि प्रदर्शनमा सहभागी छ। नयाँ बजारबाट डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा अर्को जुलुस निस्किएको छ भने त्रिपुरेश्वरबाट सुरु भएको जुलुसमा पूर्वमन्त्री केशरबहादुर विष्ट सहभागी भएका छन्।
सबै जुलुस दिउँसो २ बजे रत्नपार्कमा भेला हुने तय भए तापनि भृकुटीमण्डपमा नेकपा एमालेको प्रदर्शन ढिलो सकिएकाले राजावादी पक्षको प्रदर्शनमा केही ढिलाइ भएको जनाइएको छ।
रत्नपार्कबाट जुलुस टुँडिखेलतिर परिक्रमा गर्दै अघि बढ्नेछ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको प्रदर्शनमा को–को नेताले सम्बोधन गर्ने भन्ने टुंगो भने अझै लागिसकेको छैन।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया