काठमाडौँ । सरकारले देशभर खेलकुद पूर्वाधारको विकासमा प्राथमिकता दिने नीति लिएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले खेल क्षेत्रको विकासका लागि राज्यको लगानी बढाउने र निजी क्षेत्रलाई समेत आकर्षित गर्ने बताए ।
उनले झापाको दकममा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रंगशाला निर्माण गरिने घोषणा गरे । साथै काठमाडौंको मुलपानीसहित मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाको निर्माण कार्य अगाडि बढाउन ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
त्यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ छुट्याइएको छ ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि पनि सरकारले सशर्त अनुदानको व्यवस्था गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमार्फत सम्पत्ति मूल्यांकन गरी उक्त रंगशालाको सिर्जित सम्पत्तिको खरिदका लागि बजेट विनियोजन गरिने अर्थमन्त्री पौडेलले बताए ।
सरकारको यो निर्णयले नेपाली खेलकुद क्षेत्रमा दीर्घकालीन संरचनागत विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया