काठमाडौं । राप्रपा नेपाल अध्यक्ष कमल थापाले सडकबाटै संविधान च्यातेर नयाँ संविधान बनाउने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
राजावादी समूहले बिहीबार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको प्रदर्शनमा बोल्दै अध्यक्ष थापाले वर्तमान संविधान जनताको चाहनाअनुसार नबनेको दाबी गर्दै भने, “अबको आन्दोलनले संविधानमै ठूलो धक्का दिनेछ। यदि सत्ता पक्षले समयमा कुरा नबुझ्ने हो भने सडकबाटै संविधान च्यातेर नयाँ संविधान जारी गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले बेलैमा सहमति र समझदारीमा आउन सबैलाई आग्रह गर्दछु।”
थापाले आन्दोलन अब झन् सशक्त रूपमा अघि बढ्ने पनि स्पष्ट पारे। “गाउँगाउँबाट मानिसहरू आउँदै छन्, भोलिदेखि आन्दोलन अझै चर्किनेछ,” उनले भने। साथै काठमाडौंबासीहरूलाई पनि आन्दोलनमा सक्रिय सहभागी बन्न आग्रह गरे।
“काठमाडौं चिसो ठाउँ हो, यहाँ मान्छे तात्न अलिक समय लाग्छ। तर म विश्वास गर्छु, अब जनताले तात्न थाल्नुहुन्छ। आन्दोलनले गति लिन्छ,” थापाले भनाइ राखे।
बिहीबार दिउँसो २ बजे रत्नपार्कमा भेला भएका राजावादीहरूले टुँडिखेल वरिपरि र्याली गरेपछि पुनः रत्नपार्कमै फर्किएर कोणसभा सम्पन्न गरेका थिए।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया