काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले संसद्मा प्रतिपक्षको भूमिका अझ प्रभावकारी बनाउन जेठ १९ गतेका लागि विज्ञसहितको संसदीय दलको बैठक बोलाएको छ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले संसदीय दलको बैठकमा विज्ञहरूको सहभागिता रहने जानकारी दिए।
उनका अनुसार बैठक जेठ १९ गते दिउँसो १२ बजे माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ।
माओवादी केन्द्रले जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर संसद् अवरुद्ध गर्दै आएको छ। तर बिहीबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा भने संसद् चल्न दिएको थियो।
अब संसद् अवरोधलाई निरन्तरता दिने कि वैकल्पिक रणनीति अपनाउने भन्नेबारे विज्ञहरूसँग परामर्श गरेर निर्णय लिने माओवादीको तयारी रहेको पौडेलले बताए।
उनले भने, “प्रतिपक्षको भूमिका अझ प्रभावकारी बनाउन विज्ञहरूको सुझावका आधारमा आगामी रणनीति तय गर्नेछौँ। संसद् अवरोध जारी राख्ने कि वैकल्पिक मार्ग रोज्ने भन्ने टुंगो सोही बैठकले लगाउनेछ।”
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया