काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रबीच जनताको समर्थन कता छ भन्ने प्रश्नमा जेठ १५ गतेको रत्नपार्कस्थित प्रदर्शनले जनमत संग्रहजस्तै संकेत दिएको दाबी गरेका छन्।
राजसंस्था पुनःस्थापनाको मागसहितको अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजार पुलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले अब ‘राजासहितको नवीन समझदारी’ नै देशको स्थायित्वको एकमात्र विकल्प भएको उल्लेख गरे।
“हिजोको दृश्य एक किसिमको जनमत संग्रहजस्तै थियो,” लिङ्देनले भने, “प्रधानमन्त्रीकै आह्वानमा गणतन्त्र पक्षधरहरूले आयोजना गरेको प्रदर्शनको उपस्थिति कस्तो थियो, अनि राजसंस्थाको पक्षमा उत्रिएको जनसागर कति विशाल थियो भन्ने सबैले देखे।”
उनले दलका नेताहरू र प्रधानमन्त्रीलाई कटाक्ष गर्दै ‘कब्जा गर्छु’, ‘नियन्त्रणमा लिन्छु’, ‘निस्तेज पार्छु’ जस्ता भाषा प्रयोग नगरी वार्ता र सहमतिको बाटो समाउन आग्रह गरे।
लिङ्देनले देशमा स्थायित्व र राष्ट्रिय एकताको लागि अब राजासहितको नवीन राजनीतिक समझदारी अपरिहार्य भएको दाबी गर्दै, सरकारले संवाद र सहमतिमा नआएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे।
उनको नेतृत्वमा भइरहेको राजसंस्थाप्रतिको आन्दोलन क्रमशः तीव्र हुँदै गएको छ, भने सत्ता पक्ष र विपक्षबीचको वैचारिक दूरी झनै बढ्दै गएको देखिन्छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया