काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा लिइएको स्पष्ट पारेका छन्।

बजेट सार्वजनिक गरेको भोलिपल्ट, शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले बजेटको मूल उद्देश्य र उपलब्धिहरू प्रस्तुत गर्दै, यसको सफल कार्यान्वयनमार्फत आर्थिक स्थायित्व, लगानी विस्तार र रोजगारी वृद्धि हुने विश्वास व्यक्त गरे।

advertisement

बिहीबार संघीय संसदको संयुक्त बैठकमा उनले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब १९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। पौडेलले बजेटले निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने र समग्र आर्थिक गतिविधिमा गतिशीलता ल्याउने अपेक्षा गरिएको बताए।

उनका अनुसार बजेटमा आम्दानी र खर्चको यथार्थपरक अनुमान गरिएको छ। पुँजीगत खर्चको हिस्सा बढाइएको, चालु खर्चलाई सीमा भित्र राखिएको तथा संघ, प्रदेश र स्थानीय तहबीचको वित्तीय हस्तान्तरणमा वृद्धि गरिएको जानकारी उनले दिए।

राजस्व लक्ष्य अघिल्लो संशोधित अनुमानको तुलनामा १७ प्रतिशतले बढाइएको छ। बजेट विनियोजन गर्दा ३ करोड रुपैयाँभन्दा तलका आयोजनालाई समावेश नगरिएको र साना आयोजनाको नाममा स्रोत विखण्डन नगर्नेतर्फ मन्त्रालयले नीति लिएको मन्त्री पौडेलले स्पष्ट पारे।

“अब साना आयोजनाका नाममा रकम बाँड्ने परिपाटी हटाउनेछौं,” उनले भने, “३ करोडभन्दा कमको योजना ल्याइएको छैन। खरिद प्रक्रिया थाल्न साउन १ गतेसम्म कुर्नुपर्दैन।”

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सिमा (कुल गार्हस्थ उत्पादनको ५.५ प्रतिशत) भन्दा कम, अर्थात ५.३ प्रतिशत मात्रै आन्तरिक ऋण प्रस्ताव गरिएको जानकारी पनि दिए।

बजेटमार्फत केही नीतिगत सुधार पनि प्रस्ताव गरिएको पौडेलको भनाइ छ। वैकल्पिक वित्तीय स्रोतमार्फत आर्थिक विकासको गति बढाउने लक्ष्य लिइएको र डिजिटल प्रणाली तथा सामाजिक सुरक्षासँग राष्ट्रिय परिचयपत्र जोड्ने काम अगाडि बढाइएको उनले बताए।

डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) र भन्सार बिन्दुमा लाग्ने अग्रीम आयकर हटाइएको जानकारी दिँदै, उनले प्रदेश तथा स्थानीय तहहरूलाई यथार्थपरक बजेट निर्माणका लागि आवश्यक परामर्श सेवा तथा सीमा निर्धारण गरिने पनि स्पष्ट पारे।

“यो बजेट कार्यान्वयनमै केन्द्रित हुनेछ,” अर्थमन्त्री पौडेलले दोहोर्‍याए, “योजनाको छररिन रोक्दै गुणस्तरीय विकासमा ध्यान दिइनेछ।”

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com