काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले संघीय संसद्को आगामी बैठक सहज ढंगले सञ्चालन हुने विश्वास व्यक्त गरेको छ। शुक्रबार सभामुख देवराज घिमिरेसँगको भेटपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
संसद् बैठक सुरु हुन अझै चार दिन बाँकी रहेको उल्लेख गर्दै बर्तौलाले यस अवधिमा प्रतिपक्षी दलहरूसँग संवाद र समन्वय गरेर संसद् सञ्चालनका लागि अनुकूल वातावरण बनाइने विश्वास व्यक्त गरे।
उनले कुनै एक कर्मचारीको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु संसदीय प्रणालीकै लागि नकारात्मक सन्देश हुने चेतावनी पनि दिए। “एउटा कर्मचारीको विषयमा संसद् अवरुद्ध गर्नुले संसदीय अभ्यासलाई गलत दिशामा लैजान सक्छ,” बर्तौलाले भने, “यसले भविष्यमा गलत राजनीतिक नजिर बस्न सक्छ। अब बाँकी चार दिनको समय प्रतिपक्षी दलहरूले गम्भीर समीक्षा गर्ने आशा गरेका छौं।”
यसैबीच, प्रतिपक्षी दलहरूले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। उनीहरूले यस विषयमा सरकारको स्पष्ट जवाफ र छानबिन समिति गठन हुनुपर्ने माग पनि राखिरहेका छन्।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया