काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आयोजना गरिएको ‘मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धि’मा पर्यवेक्षक राष्ट्रका रूपमा नेपालको सहभागिता रहँदा सो अवसरमा यो भेटवार्ता भएको हो।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयामहरू, आपसी हित र साझा चासोका विषयहरूबारे विस्तृत छलफल भयो। साथै, नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रम र सहकार्यका सम्भावनाहरूलाई केन्द्रमा राखी विचार विमर्श गरिएको थियो।
मन्त्री डा. राणाले नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै चीनले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गरिन्। उनले आगामी दिनमा समेत आर्थिक सहायता, प्राविधिक सहयोग, प्रविधि हस्तान्तरण तथा प्रत्यक्ष वैदेशिक लगानी जस्ता क्षेत्रमा चीनको साथ र सहकार्यको अपेक्षा रहेको स्पष्ट पारिन्।
नेपाल सदा एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै मन्त्री राणाले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिइने प्रतिबद्धता दोहोर्याइन्। उनले हालै सम्पन्न सगरमाथा संवादमा चीनको सक्रिय सहभागिता प्रति विशेष धन्यवाद ज्ञापन गर्दै उक्त सम्मेलनलाई सफल बनाउन चीनको सहयोग महत्वपूर्ण रहेको बताइन्।
भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बरमा गरेको चीन भ्रमण, त्यसमाविच भएका सहमति र सम्झौताहरूको कार्यान्वयन विषयमा पनि छलफल भएको थियो। मन्त्री डा. राणाले चीनसँगको उच्चस्तरीय भ्रमण र आपसी सहकार्यको निरन्तरता अत्यावश्यक रहेकोमा जोड दिइन्।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको सन्दर्भमा चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिँदै मन्त्री डा. राणाले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइने भएकाले सो अवसरमा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताइन्।
चिनियाँ विदेशमन्त्री वाङले सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकारलाई बधाई ज्ञापन गरे। उनले जलवायु परिवर्तन, वातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा नेपालसँग सहकार्य गर्न चीन इच्छुक रहेको धारणा राखे।
साथै, नेपालले चीनसँग सहकार्य गर्दै ‘मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठन’मार्फत पनि भविष्यमा सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भएका सहमति र सम्झौताहरूलाई यथाशक्य चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया