काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरण चुलिँदै गएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरिएको छ। उनको स्थानमा हालै डीआईजीमा बढुवा गरिएका ओमबहादुर राना पठाइएका छन्।

सरुवा प्रक्रिया गृहमन्त्री रमेश लेखककै निर्देशनमा भएको हो। गृहमन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ।

advertisement

शक्तिशाली अख्तियारमा भइरहेको प्रहरी नेतृत्वको परिवर्तन सामान्य सरुवा मात्र नभई राजनीतिक प्रभावको संकेतका रूपमा हेरिएको छ। हालै चर्चामा रहेको भिजिट भिसा प्रकरणमा अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलगायतका विरुद्ध अनुसन्धान अघि बढाएको छ। उक्त प्रकरणमा गृहमन्त्री लेखककै नामसमेत जोडिँदै आएको छ।

यसै सन्दर्भमा, विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग तीव्र पारेका छन्। यस्तै संवेदनशील समयमा अख्तियारका प्रहरी प्रमुखको हठात् सरुवा हुनु सरकारको नियत र अनुसन्धानको स्वतन्त्रता माथि प्रश्न उठ्ने गरी आएको छ।

गृहमन्त्री लेखकले हालै ११ जना प्रहरी अधिकृतलाई डीआईजीमा बढुवा गरेका थिए। ती अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरिसकिएको छ। तर, अख्तियारमा नेतृत्व फेर्ने निर्णय विशेष उद्देश्यसहित गरिएको भन्ने आशंका थप गहिरिँदै गएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com