रूपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले अघिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रसँग गरिएको गठबन्धन जनताले अस्वीकार गरेपछि हालको सत्ता गठबन्धन बनेको बताएका छन्।
बुटवल उपमहानगरपालिकाले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खाणले बुटवललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै भने, “हामीले स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गर्यौं, तर जनताले त्यो गठबन्धनलाई स्वीकार गरेनन्। बुटवलमा मेयर कांग्रेसबाट निर्वाचित भए भने उपमेयर एमालेबाट निर्वाचित हुनुभयो। जनताले नै कांग्रेस–एमाले गठबन्धन बनाइदिए। त्यही जनमतलाई आधार बनाएर अहिले केन्द्रमा पनि गठबन्धन निर्माण भएको हो।”
खाणले गठबन्धन गरेर पनि अपेक्षित परिणाम ल्याउन कठिन हुने जनाउँदै वर्तमान गठबन्धनलाई शुभकामना दिएका छन्। उनले सहमति र सहकार्यमै मुलुकको राजनीतिक स्थायित्व सम्भव रहेको उल्लेख गर्दै एमालेसँग संवाद र समझदारीमार्फत अघि बढ्नु नै उपयुक्त बाटो भएको बताए।
बजेट सन्तुलित र यथार्थपरक : खाण
नेता खाणले हालै प्रस्तुत भएको संघीय बजेट सन्तुलित र वस्तुगत भएको प्रतिक्रिया दिंदै अर्थमन्त्रीलाई धन्यवाद व्यक्त गरे। उनले लुम्बिनी प्रदेशलाई प्रधानमन्त्रीले प्राथमिकतामा राखेकोमा सन्तोष व्यक्त गर्दै भने, “प्रधानमन्त्रीले लुम्बिनीको विषय संसद्मा उठाउनु भयो, पाणिनिमा पनि चर्चा गर्नुभयो। अब लुम्बिनी क्षेत्रको पर्यटन विकासको सम्भावना देखिएको छ।”
भारतीय पर्यटकलाई सजिलो बनाउने आग्रह
खाणले भारतबाट आउने पर्यटकहरूलाई सुरक्षाका नाममा अत्यधिक जाँचबुझ गरिने भन्दै चेकपोइन्टहरू हटाउनुपर्ने आवश्यकता औंल्याए। “जताततै सुरक्षा जाँचले पर्यटकलाई हैरानी भइरहेको छ, अब त्यस्ता चेकिङ हटाएर सहज बनाउनु पर्छ,” उनले स्पष्ट पारे।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया