काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आन्दोलनमा सहभागीहरुलाई “भाडाका मान्छे” को संज्ञा दिएका छन्।

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूलाई संविधानविपरीतका गतिविधि नगर्न चेतावनी दिएका हुन्। उनले संविधान अनुसार संसद्‌मा सपथ खाएर त्यसकै विरुद्धमा उत्रनु नैतिक रूपमा पनि गलत भएको बताए।

advertisement

उनले भने, “संसदमा यही संविधान अनुसार सपथ खाने, कानुनअनुसार सुविधा लिने अनि त्यसै संविधानविरुद्ध जाने कुरा न त तर्क अनुसार मिल्छ, न नैतिकता अनुसार। यस्तो पूर्ण रूपमा अनुचित हो। मैले पहिले देखिनै भन्दै आएको छु—राजावादी र ज्ञानेन्द्रले धेरै चुरीफुरी नगरे हुन्छ। नेपाल अहिले धेरै अघि बढिसकेको छ।”

प्रचण्डले राजावादी आन्दोलनमा मानिसहरू पैसा दिएर ल्याइने गरेको आरोप पनि लगाए। “कहिलेकाहीँ केही मानिस जम्मा गरेर जुलुस निकाल्ने कुरा नयाँ होइन,” उनले भने, “उनीहरूसँग अलिकति पैसा छ, त्यसैले भाडामा मान्छे ल्याउने गर्छन्। तर, त्यस्तो आन्दोलनले देशलाई फर्काउन सक्दैन।”

उनले राप्रपाको आलोचना गर्दै भने, “उपनिर्वाचनमा एक सिट पनि जित्न नसक्ने पार्टीले संविधान नै खारेज गर्ने कुरा गर्नुको कुनै तुक छैन। राजावादीहरूलाई चुनाव लड्ने र सरकार बनाउने अधिकार छ, तर त्यसका लागि जनताको समर्थन चाहिन्छ।”

प्रचण्डले हालको राजनीतिक असन्तुष्टिलाई केवल राजावादी भावनासँग मात्र होइन, जनतामा बढ्दो असन्तोषसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याए। उनले आन्दोलनलाई राजा पुनर्स्थापनाका निम्ति मात्र नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिको अभिव्यक्तिका रूपमा पनि विश्लेषण गर्न आग्रह गरे।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com