काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको विचार अहिलेको सन्दर्भमा लागू नहुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको एकीकरणको शैली आजको समयसँग मेल नखाने बताएका हुन् ।

उनले भने, “पृथ्वीनारायण शाहले एकीकरणका लागि मारकाटको बाटो अपनाए । त्यसबेलाको आवश्यकता र समय अनुसार त्यो उपयुक्त हुनसक्छ, तर आजको यथार्थ फरक छ । आज मेलमिलाप, समावेशिता र लोकतान्त्रिक मूल्यका साथ राष्ट्रलाई अगाडि बढाउनु आवश्यक छ ।”

advertisement

ओलीले ‘पृथ्वी पथ’को नाममा विगतको शैलीलाई दोहोर्याउन खोज्नु निरर्थक रहेको बताए । उनले भने, “पृथ्वी पथ भन्दै पोखरासम्म पुग्न सकिएला, तर देशको विकास र एकता त्यही बाटोबाट सम्भव छैन । अहिले लोकतन्त्र र संविधानको रक्षा गर्दै समावेशी विकासमा केन्द्रित हुनुपर्ने समय हो ।”

पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै ओलीले पृथ्वी पथको नाममा पुनः राजतन्त्रको सपना देख्नु हास्यास्पद रहेको बताए । “१३ औँ सन्तानले राजा हुने बहानामा पृथ्वी पथको युक्ति निकाले । अहिले पनि त्यही युक्ति प्रयोग गर्न खोजिन्छ । यो समय राजा र रजौटाको होइन, लोकतन्त्रको हो,” उनले भने ।

ओलीले पृथ्वीनारायण शाहको योगदानलाई समय सापेक्ष रुपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे । “उहाँको विचार र बाटो त्यतिबेलाको लागि उपयुक्त थियो । तर आज हामी उद्यमशीलता, समावेशिता र लोकतान्त्रिक प्रणालीको माध्यमबाट राष्ट्र निर्माणको अभियानमा अघि बढिरहेका छौँ,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

उनले वर्तमानमा संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै जाति, भाषा, संस्कृति, धर्म र पहिचानको सम्मानसहितको एकता आवश्यक रहेकोमा जोड दिए । “पृथ्वीनारायण शाहले संविधान भन्ने शब्द पनि सुनेका थिएनन् होला । आज हामी संविधानको संरक्षणमा केन्द्रित छौँ । विकास र समृद्धिका लागि हरेक नेपालीको सहभागिता आवश्यक छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com