काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिप्पणीलाई लक्षित गर्दै प्रतिउत्तर दिएका छन्।
नुवाकोटमा आयोजित कार्यक्रममा प्रचण्डले राजावादीहरूले भाडामा मान्छे ल्याएर देखाउने प्रदर्शनलाई सामान्य विषय भन्दै टिप्पणी गरेका थिए। उनले भनेका थिए, “भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्नु सामान्य कुरा हो। चुनावमार्फत बहुमत ल्याएर सरकार बनाउने अधिकार उनीहरूलाई छ। तर यत्रा उपनिर्वाचनमा एक सिट पनि नजित्ने राप्रपाले संविधान खारेज गर्ने कुरा गर्नुको कुनै तुक छैन। उनीहरू सँग अलिकति पैसा छ, त्यसैले मान्छे ल्याएर प्रदर्शन गरिरहेका छन्।”
प्रचण्डको उक्त भनाइको जवाफमा अध्यक्ष लिङदेनले आन्दोलन स्थलमै सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिएका हुन्। उनले प्रचण्डले आफूले भोगेका अनुभव सुनाएको बताए।
“प्रचण्डजी राम्रो होस् नराम्रो, उहाँ गणतन्त्रका अगुवा हो। उहाँकै नेतृत्वमा गणतन्त्रको एजेण्डा अघि बढेको हो। त्यसैले गणतन्त्रको जग हल्लिँदा सबैभन्दा बढी पीडा उहाँलाई हुनु स्वाभाविक हो। त्यही पीडाले गर्दा बेलाबेला केहि बेसुरका कुरा बोल्नुहुन्छ, म त्यसलाई अन्यथा लिंदिनँ,” लिङदेनले भने।
उनले थपे, “गणतन्त्र स्थापनाका बेला उहाँहरूले पनि टाढा–टाढाबाट मान्छे ल्याएर प्रदर्शन गर्नुभएको थियो। पार्टी प्यालेसमा भोज गरेका दृश्यहरू हामी सबैलाई थाहा छन्। पैसा बाँडेर र खुवाएर मान्छे ल्याउने शैली उहाँहरूको पुरानै अभ्यास हो। आज उहाँले त्यसैको झल्को दिएका मात्र हुन्।”
लिङदेनले जनसमर्थन क्रमशः बढिरहेको भन्दै सरकारलाई झुकाउन सक्ने दाबी पनि गरे। “अहिले जनताको साथ पूर्ण रूपमा नभए पनि हामी निरन्तर लागिरहने छौं। जनताको समर्थन यस्तैगरी बढ्दै गयो भने सरकार आफैं झुक्न बाध्य हुनेछ,” उनले भने।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया