काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको जग हल्लिन थालेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वाभाविक रूपमा चिन्ता बढेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले दाहालको पछिल्लो अभिव्यक्तिलाई विगतका आफ्नै अनुभवको झल्को भएको बताए।
दाहालले सोही दिन नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै भनेका थिए, “राजावादीहरूले भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो।” त्यसको प्रतिकृयामा लिङ्देनले प्रचण्डकै नेतृत्वमा गणतन्त्र आएको र त्यसैले अहिले गणतन्त्रको जग हल्लिँदा सबैभन्दा ठूलो पिर उनलाई परेको टिप्पणी गरे।
लिङ्देनले भने, “विचरा प्रचण्डजी, उहाँ त गणतन्त्रका संस्थापक हो। गणतन्त्र ल्याउने नेता स्वयं अहिले गणतन्त्र हल्लिएको देखेर naturally डराउनुभएको हो। त्यसैले डरको बेलामा के-के बोलिन्छ, के-के गरिन्छ — त्यो पनि स्वाभाविक हो।”
उनले थपे, “प्रचण्डजीलाई राम्रोसँग थाहा छ, जब उहाँहरूले गणतन्त्रका पक्षमा प्रदर्शन गर्नुहुन्थ्यो, कहाँ-कहाँबाट मान्छे भाडामा ल्याइन्थ्यो, कुन पार्टी प्यालेसमा कस्तो भोजभतेर हुन्थ्यो। त्यसैले अहिले पैसा दिएर मान्छे ल्याएको भन्नु उहाँकै विगतको झल्को हो।”
राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टी जनताको स्वस्फूर्त साथ र समर्थन प्राप्त गर्दै अगाडि बढिरहेको दाबी गर्दै जनसमर्थनकै भरमा वर्तमान सरकारलाई झुकाउन सकिने बताए।
उनले भने, “हामीले पहिल्यै भनिसकेका छौं — यदि जनताको समर्थन यस्तै गरि बढ्दै गयो भने, यो सरकारलाई झुक्न बाध्य बनाउँछौं। हामी निरन्तर रुपमा आन्दोलनमा लागिरहन्छौं।”
लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै भने, “उहाँहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहनुभएको छ। अब त्यो लुटतन्त्रको अन्त्य गरेरै छाड्छौं।”
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया