काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि शंका गर्ने यो उपयुक्त समय नभएको स्पष्ट पारेकी छिन्। जेठ १७ गते शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्र स्थापनाको १८ वर्ष र संविधान जारी भएको करिब १० वर्षको अवधिमा यसको औचित्यमाथि प्रश्न उठाइनु गम्भीर विषय भएको बताइन्।
“गणतन्त्र अभ्यासमा आएको १८ वर्ष, संविधान जारी भएको झन्डै १० वर्ष भइसकेको अवस्थामा अहिले आएर यसको औचित्यमाथि प्रश्न किन उठ्यो भन्नेबारे सोच्न जरुरी छ,” झाँक्रीले भनिन्, “गणतन्त्रलाई प्रश्न गर्ने समय यो होइन।”
उनले प्रारम्भमै प्रणालीबारे सबैको बुझाइ एउटै नहुनु नै अहिलेको भ्रम र विवादको कारण भएको उल्लेख गरिन्। उनका अनुसार, गणतन्त्रप्रति सबैले एउटै ढंगले जिम्मेवारी बोध नगरेकाले यसलाई विवादित बनाइएको हो।
“यो व्यवस्थाभित्र रहेर काम गर्नु हाम्रो कर्तव्य हो भन्ने भावना हामीमा पर्याप्त रूपमा देखिएन कि भन्ने प्रश्न उठ्छ,” उनले भनिन्।
साथै, उनले सम्भव नहुने सपनाहरू बाँडेर जनतालाई भ्रममा पार्ने काम गर्न नहुने चेतावनी दिइन्। “तिलस्मी सपना मात्र देखाएर, व्यवहारमा काम नगरेर हामीले जनतालाई झुक्यायौँ कि?” भन्ने प्रश्न पनि उनले उठाइन्।
झाँक्रीले वर्तमान व्यवस्था भत्काउने होइन, सुधार र कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन्।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया