काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रको शासनमा न विकास भयो, न त सुशासन नै भन्दै जनताको संघर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै थप सुदृढ बनाउनु सबै पेशाकर्मीको साझा दायित्व भएको बताएका छन्।
शनिबार काठमाडौंमा सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र सबैको साझा उपलब्धि भएको उल्लेख गर्दै भने, “यो व्यवस्था हामी सबैले लडेर ल्याएका हौँ, अब यसलाई बचाएर सुदृढ बनाउने जिम्मेवारी पनि हामी सबैको हो।”
उनले निरङ्कुश शासनको समयमा यस्ता संगठनहरू खोल्न सम्भव नै नहुने भन्दै आजको खुला वातावरणमा पेशागत जिम्मेवारीसँगै राष्ट्रिय उत्तरदायित्व बोक्दै अगाडि बढ्न स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिए।
“यही जेठ १५ गते हामीले गौरवका साथ गणतन्त्र दिवस मनायौँ,” प्रधानमन्त्री ओलीले भने, “त्यस अवसरमा राजतन्त्र पक्षधरहरूले सडकमा उत्रिएर विरोध गरे। उनीहरूलाई जनमत संग्रह भएको जस्तो लागेछ। पहिलो दिन त पैसा दिएर मान्छे जम्मा गरे, तर दोस्रो–तेस्रो दिन भीड घट्दै गयो।”
प्रधानमन्त्री ओलीले त्यस सन्दर्भमा आफ्ना नातिको सम्झना गर्दै थपे, “मेरो नातिले जिस्कँदै भन्यो – डाइनोसर आए भनेर डर लागेन? म हासेँ। अब राप्रपाले पनि मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउने हो भने – हो, म डराएँ। पुग्यो, अब त चुपचाप घरमै बसे हुन्छ। देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो।”
ओलीले विकासको दिशामा अगाडि बढिरहेका प्रयासलाई विचलित गर्न नचाहनुपर्ने चेतावनी पनि दिए। “हामीले अघि बढाएका परिवर्तनको घोडा हो, त्यसलाई पछाडि फर्काउने प्रयास नगर। घोडाले लात हान्न सक्छ, होस गर,” उनले भने।
‘प्रधानमन्त्रीलाई लखेट्छौँ’ भन्ने जस्ता अभिव्यक्तिको पनि उनले प्रतिवाद गरे। उनले प्रश्न गरे, “के यस्ता धम्कीहरू शान्तिपूर्ण हुन सक्छन्? दुई सय पचास वर्षको राजतन्त्रमा देश कहाँ थियो र आजको लोकतन्त्रमा हामी कहाँ आइपुगेका छौँ, सोच्नुपर्ने बेला यही हो।”
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया