काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै समय नेपाली कांग्रेस स्वयं राजावादी विचार बोकेको दल रहेको स्वीकार गरेका छन्। तर उनले नेपालको राजसंस्था भने कहिल्यै राजावादी नहुनु नै गणतन्त्रमा जानुपर्ने प्रमुख कारण भएको बताएका छन्।
शनिबार आयोजित ‘गणतन्त्र नै सही बाटो’ विषयक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफू विद्यार्थी राजनीतिमा सक्रिय रहँदा बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको पक्षमा दृढ विश्वास राख्दै आएको स्मरण गरे। “त्यो केवल रणनीतिक निर्णय होइन, हामीले विश्वासपूर्वक अंगालेको विचार थियो,” उनले भने, “हामी त्यसैको प्रशिक्षण लिएर आएको पुस्ता हौं।”
तर, नेपालको राजसंस्थाले कहिल्यै राजावादी चरित्र प्रदर्शन नगरेको र सदैव निरंकुश राजतन्त्रको पक्षमा उभिएको उनको आरोप थियो। “नेपाली कांग्रेस राजावादी भयो, तर राजसंस्था कहिल्यै राजावादी भएन। राजसंस्था सधैँ राजतन्त्रवादी मात्र रह्यो,” थापाले स्पष्ट पारे।
महामन्त्री थापाले नेपालमा राजसंस्थालाई संवैधानिक बनाउने प्रयासहरू पटक–पटक गरिए पनि त्यो सफल हुन नसकेको दाबी गरे। “राजसंस्था आफैं राजावादी भइदिएको भए, त्यसलाई संवैधानिक बनाउने प्रयास सफल हुन सक्थ्यो। तर अब त्यसको सम्भावना छैन,” उनले भने।
उनको भनाइमा, अबको बहस संवैधानिक राजसंस्था राख्ने कि गणतन्त्रमा जाने भन्नेबारे होइन, बरु गणतन्त्र राख्ने कि राजतन्त्र पुनःस्थापना गर्ने भन्नेबीच मात्र सीमित छ। “अबको बहस स्पष्ट छ — नेपाल गणतन्त्र हो कि राजतन्त्र। यसबाहेकको कुरा अब अप्रासंगिक भइसकेको छ,” उनले निष्कर्ष निकाले।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया