काठमाडौं । भारतको उत्तर–पूर्वी क्षेत्रका चार प्रदेशहरूमा लगातार ४८ घण्टादेखिको भारी वर्षाका कारण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। शनिबार दिउँसोसम्म अरुणाञ्चल प्रदेश, असम, मेघालय र मिजोरममा गरी कम्तीमा १४ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।
अरुणाञ्चल प्रदेशको कामिंग जिल्लामा पहिरोले दुई परिवारका सात जनाको ज्यान लिएको छ। यसअघि शुक्रबार अरुणाञ्चलकै जिरो नामक क्षेत्रमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो।
असम प्रदेशको कामरूप महानगर क्षेत्रमा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ, जसमा तीन जना महिला रहेका छन्।
लगातारको वर्षाले बाढी, पहिरो र आँधी–तुफानको समस्या निम्तिँदा हजारौँ मानिस प्रभावित भएका छन्। विशेषगरी असम, अरुणाञ्चल र मेघालयमा तीव्र वर्षासँगै आँधी–तुफानको असर पनि देखिएको छ।
प्राकृतिक प्रकोपका कारण विभिन्न स्थानमा जनजीवन प्रभावित बनेको छ भने स्थानीय प्रशासन उद्धार तथा राहत कार्यमा जुटिरहेको जनाइएको छ।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया