काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा बढ्दो असन्तुष्टि र आन्दोलनको मुख्य कारण पुराना नेताहरूको निरन्तर नेतृत्व रहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यदि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आजैबाट राजनीतिबाट विश्राम लिने घोषणा गरे भने आन्दोलन तुरुन्तै थामिने दाबी गरे।
“हामीले लामो समयदेखि शासन सत्तामा उही पुराना अनुहारहरू मात्रै देखिरहेका छौँ,” उनले भने, “समाजले अस्वीकार गरिसकेको, थाकिसकेको नेतृत्व फेरिन नसक्नु नै हाम्रो लोकतन्त्रको सबैभन्दा ठूलो समस्या हो।”
महामन्त्री थापाले नेपाली समाजमा गणतान्त्रिक संस्कृतिको अभ्यास हुन नसकेको उल्लेख गर्दै भने, “डेमोक्रेसी भनेको अनुहार फेरिने, पुस्ता परिवर्तन हुने प्रक्रिया हो। तर हाम्रो राजनीतिमा पुस्ता सर्न सकेको छैन, नेताहरूले जिम्मेवारीबाट आफूलाई अलग गर्न सकिरहेका छैनन्।”
उनका अनुसार, पुराना नेताहरूले राजनीतिबाट एक पाटो सर्ने निर्णय गरेकै दिनबाट सडक आन्दोलनहरू आफैं निष्क्रिय हुनेछन्। “म ती नेताहरूलाई सम्मान गर्छु,” थापाले भने, “तर यदि आजै उहाँहरूले भन्नुभयो—अब नयाँ पुस्तालाई अवसर दिन्छौँ, हामी विश्राम लिन्छौँ—भोलिदेखि आन्दोलनका घेराबन्दीहरू हट्छन्, युवाहरू घर फर्किन्छन्। समाजमा शान्ति फर्किन्छ।”
गगन थापाको यो भनाइ वर्तमान राजनीतिक नेतृत्वको आलोचनासँगै युवा पुस्ताको नेतृत्वको मागसमेत हो, जसले अबको राजनीतिक यात्रा ताजा सोच र नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया