काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा चीन सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर स्वदेश फर्किएकी छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा. राणा गत बुधबार हङकङ गएकी थिइन् ।
नेपाल सो सङ्गठन स्थापना गर्नेसम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रुपमा सहभागी भएको हो ।
उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए । उक्त सङ्गठनले विभिन्न देशबिच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबिच एवम् विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।
यसै, कार्यक्रमका सिलसिलामा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । भेटका अवसरमा नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको बताएकी छन् ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया