काठमाडौं । दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारका सदस्यहरूको सम्झनामा हिमानी ट्रस्टले आयोजना गर्न लागेको दीप प्रज्वलन कार्यक्रमको स्थान परिवर्तन गरिएको छ। सुरुमा नारायणहिटी दरबार परिसरभित्रको मन्दिरमा कार्यक्रम हुने भनिए पनि हाल उक्त कार्यक्रम कमलादीस्थित गणेश मन्दिरमा सारिएको हो।
सरकारले हालै नारायणहिटी क्षेत्र वरपर राजावादी प्रदर्शनको कारण निषेधाज्ञा जारी गरेपछि कार्यक्रम स्थानान्तरण गर्नुपरेको ट्रस्ट स्रोतले जनाएको छ। प्रारम्भमा दीप प्रज्वलनजस्तो शान्तिपूर्ण कार्यक्रममा निषेधाज्ञाले असर नपर्ने अनुमान गरिएको थियो। तर, प्रहरीले अवरोध गर्न सक्ने संकेत पाएपछि स्थान परिवर्तन गरिएको हो।
हिमानी ट्रस्टका अनुसार, कार्यक्रम शुद्धरूपमा दिवंगत राजपरिवारका सदस्यहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले आयोजना गरिएको हो र यसमा कुनै पनि राजनीतिक आशय नरहेको स्पष्ट पारिएको छ। ‘जेठ १५ गते हरेक वर्ष झैं श्रद्धाञ्जली कार्यक्रम आयोजना हुँदै आएको हो, तर यसपालि प्रमुख जिल्ला अधिकारीले अनुमति दिन मानेनन्’, ट्रस्ट स्रोतले गुनासो गर्दै भन्यो।
अनुमति माग्न गएको बेलामा जिल्ला प्रशासन कार्यालयका प्रमुखले कुरा बुझ्नसमेत चासो नदिएको आरोप ट्रस्टले लगाएको छ।
कमलादी गणेश मन्दिरमा हुने दीप प्रज्वलन कार्यक्रममा काठमाडौंमा रहेका सबै राजपरिवारका सदस्यहरू सहभागी हुने कार्यक्रम छ। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हाल झापामा रहेकाले उनीहरू उपस्थित रहने छैनन्।
पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह तथा तिनका सुपुत्र हृदयेन्द्र शाह भने कार्यक्रममा सहभागी हुनेछन्। अमेरिकी विश्वविद्यालयमा अध्ययनरत हृदयेन्द्र हाल बिदामा नेपाल आएका हुन्।
त्यस्तै, पूर्व अधिराजकुमारी प्रेरणा, पूर्वराजाका बहिनीहरू तथा ज्वाईंहरू पनि कार्यक्रममा सहभागी हुने तयारीमा छन्। पूर्वशाहज्यादी शिताष्मा शाह भने हाल झापामा पूर्वराजा दम्पतीसँगै रहेकी छन्।
हिमानी ट्रस्टको यो श्रद्धाञ्जली कार्यक्रम शान्तिपूर्ण ढंगमा सम्पन्न हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार











प्रतिक्रिया