काठमाडौं । राजधानीमा आयोजित राजावादी प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित सात जनाको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, सबै पक्राउ परेकाको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको हो। परीक्षणपछि उनीहरूलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ।
पक्राउ परेकाहरूलाई थप म्याद लम्ब्याउने वा रिहा गर्ने भन्नेबारेमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन।
आईतबार राजावादी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा नारायणचौर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। सो क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो।
प्रहरी नियन्त्रणमा लिइएकामा अध्यक्ष कमल थापासँगै ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुर चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा रहेका छन्।
प्रहरीका अनुसार, उनीहरू निषेधित क्षेत्र पार गर्दै बालुवाटारतर्फ अगाडि बढ्ने प्रयासमा थिए। सोही क्रममा नारायणचौरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया