काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको सचिवालयका एक कर्मचारीको संलग्नता देखिएपछि गृहमन्त्री रमेश लेखक आलोचनाको घेरामा छन् । विपक्षी दलहरूले उनलाई राजीनामा दिन माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन् । तर, संसद्मा प्रतिनिधित्व गर्ने मधेसकेन्द्रित दलहरू भने यो विषयमा मौन देखिन्छन् । कुनै पनि मधेसकेन्द्रित दलले मन्त्री लेखकबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । यद्यपि, ती दलका अधिकांश नेताहरू भने लेखकको पक्षमा देखिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का सहअध्यक्ष तथा सांसद सर्वेन्द्रनाथ शुक्लाले गृहमन्त्रीबारे पार्टीको कुनै आधिकारिक धारणा नरहेको बताए । उनले राजीनामाको मागलाई अस्वाभाविक भन्दै लेखकमाथि कुनै ठोस प्रमाणबिना दोषारोपण गर्नु उचित नहुने तर्क गरे ।

advertisement

“कुन आधारमा राजीनामा दिनु भन्ने कुरा प्रस्ट छैन,” शुक्लाले भने, “कर्मचारीको गल्तीका लागि मन्त्री जिम्मेवार ठहर गर्न मिल्दैन, त्यसो हो भने धेरै मन्त्रीमाथि अनुसन्धान हुनुपर्ने हुन्छ ।” उनले लेखकमाथि दोष देखिए मात्र प्रमाणसहित सार्वजनिक गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रमुख सचेतक रेखा यादवले भने गृहमन्त्रीमाथि प्रश्न उठिसकेको हुँदा छानबिन सहज बनाउन उनले राजीनामा दिनु उपयुक्त हुने बताइन् ।
“यो मेरो व्यक्तिगत धारणा हो, पार्टीले यसबारे औपचारिक निर्णय गरेको छैन,” उनले भनिन्, “अध्यक्षज्यू मलेसियामा हुनुहुन्छ, फर्केपछि धारणा आउला ।”
रेखा यादवले लेखकले अघिल्लो गृहमन्त्रीमाथि प्रश्न उठाएका प्रसंगलाई स्मरण गर्दै अहिले आफू यस्तै परिस्थितिमा परेकोले जिम्मेवारीपूर्ण व्यवहार देखाउनुपर्ने उल्लेख गरिन् । “गृहमन्त्री पदमा रहँदा छानबिनमा असर पर्न सक्छ,” उनले भनिन्, “सडकदेखि संसद् सबैले राजीनामा मागिरहेका छन् ।”

जसपाका सहमहामन्त्री एवं खानेपानी मन्त्री प्रदीप यादवले भने लेखकले राजीनामा दिनुपर्ने अवस्था नरहेको दाबी गरे ।
“उहाँ स्वच्छ छविका व्यक्ति हुनुहुन्छ,” उनले भने, “यस्तो आरोप जबर्जस्ती लगाइएको हो, राजीनामा माग्नु केवल राजनीतिक स्टन्ट हो ।” उनले यो आफ्नो व्यक्तिगत धारणा भएको र पार्टीले औपचारिक निर्णय नलिएसम्म प्रतीक्षा गर्नुपर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि गृहमन्त्री लेखकप्रति समर्थन जनाउँदै प्रमाणबिना राजीनामा माग्नु अनुपयुक्त भएको बताइन् ।
“कर्मचारीको बयान मात्रका आधारमा मन्त्रीलाई दोषी देखाएर राजीनामा माग्नु उचित होइन,” उनले भनिन्, “पहिले सत्यतथ्य प्रमाणित हुनुपर्छ । कानुनी प्रक्रिया पूरा भएपछि मात्र निर्णय लिन सकिन्छ ।”
जनमत पार्टीकी सांसद अनिता साहले पार्टीले हालसम्म गृहमन्त्रीसम्बन्धी कुनै धारणा बनाइसकेको नबताउँदै संसद् दलको बैठकपछि मात्र निर्णय हुने जानकारी दिइन् ।

गृहमन्त्री लेखकको सचिवालयका कर्मचारीको संलग्नता देखिए पनि उनीमाथि सिधा आरोप पुष्टि नभएकाले मधेसकेन्द्रित दलहरू सतर्कता अपनाइरहेका छन् । केही नेताहरूले व्यक्तिगत धारणा दिँदा लेखकको पक्ष लिएका छन् भने केहीले राजीनामाको आवश्यकता औंल्याएका छन् । तर, समग्रमा भने यी दलहरूको आधिकारिक निर्णय आउन अझै समय लाग्ने देखिन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com