काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म नै ‘प्लास्टिकरहित’ बनाउने घोषणा गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २२ गते बिहीबारदेखि लागु हुने गरी कांग्रेस केन्द्रीय कार्यालय, सङ्घीय र प्रदेशका संसदीय दलको कार्यालय र प्रदेश कार्यालय प्लास्टिकरहित बनाउने घोषणा गरेका हुन् ।
देउवाले विश्व वातावरण दिवसकै सन्दर्भ पारेर जिल्ला कार्यालय, प्रतिनिधि सभा क्षेत्रीय कार्यालय, प्रदेश सभा क्षेत्रीय कार्यालय, पार्टीको स्थानीय तहका कार्यालय, पार्टीका सबै वडा कार्यालय, भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालय प्लास्टिकरहित क्षेत्र बनाउने बताए। कांग्रेसले प्लास्टिकरहित बनाउने अभियान आइतबारै आरम्भ गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा खानेपानी राख्न प्लास्टिकका बोतल हटाएर सिसाका बोतल राखिएका छन् । साथै प्लास्टिकका कप र अन्य सामग्रीका सट्टा कागजका कप र सिसाका सामग्री राखिएका छन् ।
कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले सानेपामा आइतबार आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्लास्टिकका झोला र बोतलको सट्टा कपडाका झोला र स्थानीयस्तरमा उपलब्ध अन्य वैकल्पिक साधनको प्रयोग गर्दै आइरहेको दाबी गरे । “सहजताका नाममा प्लास्टिकको प्रयोगले वातावरणमा पारिरहेको नकारात्मक प्रभावबाट अब माथि उठ्नुपर्ने समय आएको छ । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास लिएको छु” उनले भने ।
सभापति देउवाले मनसुन सुरु हुन लागेको र यस पटक बढी वर्षा हुने र तापक्रम पनि बढ्ने प्रक्षेपण भएको सन्दर्भमा बाढी, पहिरो र डुबानका साथै सङ्क्रामक रोगबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वसतर्कता र तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया