काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ। बैठकबारे जानकारी दिँदै पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भीर छलफल भइरहेको बताइन्।
बैठकमा हालै चर्चामा आएको भिजिट भिसा सेटिङ प्रकरणका कारण विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेको विषय प्रमुख एजेन्डा बनेको छ। प्रतिनिधिसभाको जेठ १३ र १४ गतेको बैठक अवरुद्ध गरेका विपक्षी दलहरू मंगलबार बस्न लागेको बैठक पनि अवरुद्ध गर्ने तयारीमा छन्। उनीहरूको माग गृहमन्त्रीको राजीनामा र घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्नु हो।
यससँगै बैठकमा नेपाली कांग्रेसका भ्रातृ संस्था सम्बन्धी विषय पनि छलफलमा रहेको छ। पार्टीले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकेका चार भ्रातृ संस्था — नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल दलित संघ — लाई के गर्ने भन्ने विषयमा निर्णय लिन बैठक बसेको हो। यी संस्थाहरूको प्रभावकारिता र वैधानिकता प्रश्नमा परेपछि तदर्थ समितिलाई खारेज गर्नुपर्ने आवाज पार्टीभित्र चर्किंदै गएको छ।
पार्टीको आन्तरिक व्यवस्थापन र वर्तमान राजनीतिक संकट समाधानका लागि बैठक निर्णायक बन्न सक्ने संकेत देखिएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया