काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको पछिल्लो गठबन्धन तथा त्यसकै आधारमा गठन भएको सरकारप्रति छिमेकी राष्ट्र चीनले सकारात्मक धारणा राख्दै नेपालमा राजनीतिक स्थायित्व आउने आशा व्यक्त गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलले हालै सम्पन्न १० दिने चीन भ्रमणको क्रममा भएको उच्चस्तरीय भेटवार्ता र छलफलमा चिनियाँ पक्षले नेपालमा देखिएको प्रमुख दलबीचको सहकार्यप्रति सन्तुष्टि व्यक्त गरेको हो। भ्रमणमा सहभागी उद्योग मन्त्री दामोदर भण्डारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो जानकारी दिएका हुन्।
“नेपालमा प्रमुख दुई दलबीचको सहकार्यबाट राजनीतिक स्थायित्व कायम हुने विश्वास चीनले राखेको छ। चिनियाँ नेतृत्वसँगको उच्चस्तरीय छलफलमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र सहकार्यको भावना विस्तार गर्ने विषयमा सकारात्मक संकेत देखिएको छ,” मन्त्री भण्डारीले बताए।
उनका अनुसार चीन सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई विशेष सम्मानसहित स्वागत गरेको थियो। भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गरेकी थिइन्। ती भेटवार्ताहरूमा आपसी हितका विषयमा गम्भीर छलफल भएको मन्त्री भण्डारीले जानकारी दिए।
“राजनीतिक स्थायित्व प्राप्त गरेर मात्र राष्ट्रिय लक्ष्यहरू हासिल गर्न सकिन्छ भन्ने बुझाइ चिनियाँ पक्षको छ। त्यही सन्दर्भमा आर्थिक कूटनीति र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले यो भ्रमण भएको हो,” भण्डारीले भने, “त्यसैले पनि चिनियाँ पक्षबाट विशेष सम्मान प्राप्त भएको हो।”
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया