काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा भइरहेको आलोचना र आक्षेपहरूबारे प्रतिक्रिया दिँदै सत्य र विचारप्रति अडिग रहन आम नागरिकलाई आह्वान गरेका छन्।
फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा सामूहिक रूपमा आक्रमण गर्ने प्रवृत्तिबाट व्यक्तिको निजता, सोच र आत्मसम्मानमा चोट पुर्याउने प्रयास भइरहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “आजकाल कुनै व्यक्तिलाई देवत्वकरण गर्नुपर्ने भयो भने, सामूहिक सोचमा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर हिलो छ्यापिन्छ। यसरी समाजलाई विवेकयुक्त छलफल होइन, भीडतन्त्रतर्फ लम्काइन्छ। भीडसँग बल त हुन्छ, तर सत्य भने नहुन सक्छ। त्यसैले ‘झोले’ भनेर खेदियो भन्दैमा सत्य र आदर्शको साथ छोड्न मिल्दैन।”
प्रधानमन्त्री ओलीले “म झोले हो” लेखिएको एक पोस्टर समेत सार्वजनिक गरेका छन्। उक्त पोस्टरमा लेखिएको छ, “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा, देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो।”
ओलीको सन्देशमा सत्य, मूल्य र सिद्धान्तप्रति प्रतिबद्धता जनाउँदै सामाजिक संजालमा हतोत्साही बनाउने प्रवृत्तिको प्रतिवाद गरिएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया