काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बदनाम र असफल सावित गर्न नियोजित ढंगबाट विभिन्न कोणबाट प्रयास भइरहेको आरोप लगाएका छन्।

सोमबार संघीय संसद भवनमा आयोजित नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कार्यको प्रशंसा हुनुको साटो निरन्तर आलोचना र आरोप–प्रत्यारोप मात्र भइरहेकोमा दुःख व्यक्त गरे।

advertisement

‘सरकारले गरेका सकारात्मक कामलाई हेर्नै नचाहने, सुन्नै नखोज्ने प्रवृत्ति छ,’ उनले भने, ‘सरकारको कुनै राम्रो कार्य देख्न नसक्ने, नबुझ्ने र नमान्ने प्रवृत्ति आजकल हावी हुँदै गएको छ। यस्तो प्रवृत्ति मैले “घण्टाकर्ण प्रवृत्ति” भनेको छु।’

उनका अनुसार सरकारले देशलाई अव्यवस्था र अवनतिबाट जोगाउँदै सकारात्मक दिशातर्फ लैजाने प्रयास गरिरहेको छ। ‘हामीले राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई सकारात्मक मार्गमा अगाडि बढाएका छौं,’ प्रधानमन्त्री ओलीले दाबी गरे, ‘अत्यन्तै बिग्रिएको अवस्थाबाट सुधार ल्याउन समय लाग्छ, तर सरकारको प्रयासले ओरालो लाग्ने गति रोकिएको छ र देश सही बाटोमा अघि बढ्दैछ।’

प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रको अवस्थाबारे पनि उल्लेख गर्दै आर्थिक वृद्धि दरलगायतका अधिकांश सूचकहरू सकारात्मक रहेको जानकारी दिए। विस्तृत तथ्याङ्क पार्टीका अन्य नेताहरूले प्रस्तुत गर्ने उनले बताए।

उनले सरकारका हरेक प्रयासको विपक्षीले विरोध गर्ने प्रवृत्तिप्रति पनि संकेत गरे। ‘विपक्षीहरू जुनसुकै हालतमा पनि विरोध गर्न उद्यत छन्,’ उनले भने, ‘तर हामीले बजेट लगायत नीति तथा कार्यक्रमहरू जनहितमा ल्याउने छौं।’

प्रधानमन्त्री ओलीले सुशासन, आर्थिक सुधार र विकासको गतिलाई थप प्रभावकारी बनाउन सरकार निरन्तर प्रयासरत रहेको स्पष्ट पारे।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com