काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु लोकतान्त्रिक मूल्य विपरीत भएको टिप्पणी गरेका छन्।

सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसद् नियमित रुपमा सञ्चालन हुने जानकारी दिए। उनले भने, “मैले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजें, तर उहाँले जानीजानी सम्पर्क टार्नुभयो। संवाद नगर्ने र सदन अवरुद्ध गर्ने सोच छ, तर यस्तो व्यवहार सधैं टिक्दैन।”

advertisement

प्रधानमन्त्री ओलीका अनुसार गृहमन्त्री लेखकविरुद्ध न उजुरी परेको छ, न त कुनै अनुसन्धान नै सुरु भएको छ। “त्यस्तो अवस्थामा राजीनामाको माग गर्नु गैरजिम्मेवार व्यवहार हो,” उनले भने, “संसद् जस्तो संवैधानिक अंग यस्ता आधारहीन मागले बन्द हुनु हुँदैन।”

ओलीले केही समूहको मागमा समर्थन जनाउँदै सडक आन्दोलनमा रमाउने र संसद् अवरुद्ध गर्ने प्रवृत्ति प्रतिगमनको संकेत भएको बताए। “लोकतन्त्रको रक्षार्थ यस्तो अवरोध स्वीकार्य छैन,” उनले जोड दिए।

प्रधानमन्त्री ओलीका अनुसार अहिले मुलुक गम्भीर मोडबाट गुज्रिरहेको छ, बजेट आएको छ, र सांसदहरूलाई त्यसबारे तथ्यसहित धारणा राख्नुपर्ने आवश्यकता छ। मन्त्रीहरूलाई पनि उनले संसदीय गतिविधिमा सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले राजतन्त्रको पुनःस्थापनाबारे भइरहेका बहसप्रति प्रतिक्रिया दिँदै भने, “आजको समाजमा राजा जन्मेर शासन गर्ने सोच पुरातन र दास मानसिकताको उपज हो। अहिलेको युगमा जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्छन्।”

उनले राजतन्त्र पुनः ल्याउने सपना देख्नेहरूको चेतनास्तरप्रति दुःख व्यक्त गर्दै थपे, “राजतन्त्रले न त वैज्ञानिकता देखाउँछ, न न्यायिकता। समाज संविधान र कानुनअनुसार चल्नुपर्छ।”

प्रधानमन्त्री ओलीले श्रीलंका वा बंगलादेश जस्तो अवस्था ल्याएर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप पनि लगाए। “तर अन्ततः तिनै मुलुकहरू पनि लोकतान्त्रिक बाटोमा फर्किन बाध्य भए,” उनले भने।

सत्ता गुमाएका कतिपय व्यक्तिहरू कुण्ठित हुँदै सरकारको सफलतामा आँखा चिम्लिएको र ‘घण्टाकर्ण प्रवृत्ति’ देखिएको उनको आरोप थियो। “सरकारको राम्रा काम देख्न नचाहने र असफल बनाउन खोज्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक छन्,” उनले चेतावनी दिए।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com