काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने स्पष्ट निष्कर्ष निकालेको छ। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले गम्भीर प्रश्न उठेकोले छानबिनलाई सहज बनाउने मार्ग खोल्न राजीनामा आवश्यक भएको निष्कर्षमा पुगेको हो।
पार्टीका उपमहासचिव वर्षमान पुनले बैठकपछि जानकारी दिँदै भने, “गृहमन्त्रीले पद छाड्नुपर्छ भन्ने कुरा केवल प्रतिपक्षको माग मात्र होइन। आम नागरिक, संचारमाध्यम र सर्वसाधारण सबैले आवाज उठाइरहेका छन्। यो विषयमा सेटिङ भएको आशंका छ र को–को संलग्न छन् भन्ने कुरा छानबिनबाट प्रस्ट हुनेछ। त्यसैले निष्पक्ष छानबिनका लागि मन्त्रीले मार्गप्रशस्त गर्नु जरुरी छ।”
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको तीन दलको बैठक आज बस्दैछ भने भोलि संसद् सुरु हुनुअघि विपक्षी दलहरूको छुट्टै बैठकसमेत बस्ने तयारी छ। यस्ता राजनीतिक छलफलहरूबीच माओवादी केन्द्रले गृहमन्त्रीको राजीनामा माग गर्ने अडानबाट पछि हट्न नसकिने निर्णय गरेको पुनले स्पष्ट पारे।
उनले थपे, “यो केवल राजनीतिक मुद्दा होइन, सिङ्गो शासन प्रणालीप्रति जनताको विश्वास कायम राख्ने सवाल हो। त्यसैले जिम्मेवारीबोध गर्दै गृहमन्त्रीले पदबाट अलग हुनु उचित हुन्छ।”
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया