काठमाडौँ । करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित लोकप्रिय हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतमको गए राति १२ः१० बजेको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको उनको परिवारले जनाएको छ ।
कलाकार गौतमको फेसबुक एकाउन्टबाट मंगलवार राति १ः०५ बजेको समयमा कलाकार गौतमको एउटा तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘अब हामी माझ रहनु भएन हार्दिक श्रद्धाञ्जली ।’
कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै यो संसारबाट बिदा भएका यी लोकप्रिय कलाकारले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि निको नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौँ फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरूमा समेत सहभागी भएका थिए ।
अघिल्लो वर्षको तिहारमा देउसी भैला गीत सार्वजनिक गर्न सफल भएका यी कलाकारको पुनः स्वास्थ्यमा समस्या आएपछि करिब डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए ।
केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।
कलाकार गौतमको पशुपति आर्यघाटमा मंगलवार अन्त्येष्टि गरिने भएको छ ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया