काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने भएका छन् ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा आयोजित कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली हेलीकोप्टरमार्फत आधार शिविर जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्ताभाल र उर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा आधार शिविर पुग्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले आधार शिविरमा अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण र खुला सङ्ग्रहालयको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए ।
आधार शिविरमा करिब २० देखि ३० मिनेटको कार्यक्रमपछि प्रधानमन्त्री ओली सहितको टोली नारच्याङको बेंसी गाउँमा आयोजित अन्नपूर्ण हीरक महोत्सवको मुख्य कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको अन्नपूर्ण हीरक महोत्सव मुल आयोजिक समितिका सदस्य सुवास विकले बताए ।
७५ वर्ष अघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया