काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भिजिट भिसाका नाममा सेटिङ मिलाएर पैसा लिइएको १२ सयभन्दा बढी प्रमाण आफूले प्राप्त गरेको दाबी गरेका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भिजिट भिसाका लागि अधिकांश रकम नगदमै लिइएको पुष्टि भएको बताए।
ढकालका अनुसार उनले रास्वपा सांसदहरू सोविता गौतम, मनिष झा र शिशिर खनालसहित सामाजिक सञ्जालमार्फत प्रमाण माग्दा १२ सयभन्दा बढीले पैसा बुझाएको प्रमाण पठाएका छन्। उनले भने, “भिजिट भिसामा विदेश जान दलालहरूलाई बुझाउनु पर्ने निश्चित रकम हुँदोरहेछ। केहीले नगद त केहीले बैंक ट्रान्जेक्सनमार्फत पैसा बुझाएको देखिन्छ। अधिकांश अवस्थामा एयरपोर्टमै नगद बुझाइएको प्रमाण हामीसँग छ।”
सांसद ढकालले भिजिट भिसाको नाममा महिलाहरूलाई दुबई लगेर त्यसपछि कुवेत पुर्याउने जस्ता गम्भीर गतिविधिहरू भएको सूचना पनि आफूले पाएको बताए। उनले यस्तो अवैध गतिविधिमा संलग्नहरूको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरे।
उनले २०६४ सालपछि गृहमन्त्री भएका सबैको छानबिन हुनुपर्ने आवश्यकता औंल्याउँदै हालका गृहमन्त्रीले छानबिन प्रक्रिया प्रभावित पार्न सक्ने भएकाले राजीनामा दिनुपर्ने अडान समेत राखे।
“लाखौँ नेपाली युवाहरूले एजेन्टलाई पैसा बुझाएर विदेश गएका छन्। ती माध्यमबाट अनुसन्धान गर्दा वास्तविक सञ्जालको पहुँचसम्म पुग्न सकिन्छ,” ढकालले भने।
उनको भनाइ अनुसार रास्वपाले यस विषयमा गम्भीर चासो लिएको छ र निष्पक्ष छानबिनका लागि दबाब सिर्जना गर्नेछ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया