काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विगतका भ्रमबाट मुक्त भएर यथार्थमा फर्कन आग्रह गरेका छन्।
राजधानीमा आयोजित आन्दोलनको कार्यक्रमस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले अब माओवादी युद्धकालको परिवेश समाप्त भइसकेको भन्दै त्यस्तै शैली दोहोर्याउने सोच त्याग्नुपर्ने बताए।
राजावादी र वाईसीएल कार्यकर्ताबीच भएको झडपप्रति प्रतिक्रिया दिँदै उनले भने, “वाईसीएलका भाइहरू अझै पनि जनयुद्धकालको सोचमा हुनुहुन्छ। तर त्यो समय अब सकिएको छ। कृपया त्यो भ्रमबाट बाहिर निस्कनुस्।”
उनले माओवादी अध्यक्ष प्रचण्डलाई सन्देश दिँदै भने, “अब जनतामा चेतना आइसकेको छ। जनयुद्धको समयमा जस्तो डर देखाएर शासन गर्न सकिन्छ भन्ने सोच पुरानै हो। जनताले अब सत्य र न्यायको पक्षमा उभिन थालिसकेका छन्।”
लिङ्देनले गणतन्त्रको नाममा भइरहेको लुटतन्त्रको खुलेर विरोध गर्दै भने, “हामी कुनै व्यक्तिको विपक्षमा होइनौँ, तर गणतन्त्रको आवरणमा भइरहेकै लुट, भ्रष्टाचार र अनाचारविरुद्ध दृढतापूर्वक लडिरहेका छौँ। जनताले त्यही लडाइँमा साथ दिइरहेका छन्।”
भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले थपे, “भ्रष्टहरूलाई कारवाहीबिना विश्राम लिन्नौँ। खोरमा नहालेसम्म भ्रष्टहरूलाई छाडिँदैन।”
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया