काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा प्रकरणबारे संसदमै विस्तृत रूपमा जवाफ दिने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसासम्बन्धी विषयमा गृहमन्त्रीसँग जिज्ञासा राखेका थिए। तर समितिमा सबै सांसदहरूले आफ्नो कुरा राख्न नपाउने भएकाले उनले संसदको बैठकमै जवाफ दिने तयारी भएको जानकारी गराए।
गृहमन्त्री लेखकले भने, “अध्यागमन कार्यालयका केही कर्मचारीहरूबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र यससँग सम्बन्धित विषयमा तपाईंहरूका प्रश्नहरू उठेका छन्। यदि यी प्रश्नहरू केवल समितिसम्म सीमित हुन्थे भने म यहीँ जवाफ दिन्थेँ। तर यो विषयमा सम्पूर्ण सांसदहरूको चासो देखिएकाले म संसदको बैठकमै सबै प्रश्नको समग्र उत्तर दिन चाहन्छु।”
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत केही कर्मचारीहरूविरुद्ध अख्तियारले छानबिन गरिरहेको छ। उक्त प्रकरणमा गृहमन्त्री लेखक स्वयं संलग्न भएको भन्दै विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्।
गृहमन्त्री लेखकले संसदमै जवाफ दिन पाएमा सबै सांसदहरूको जिज्ञासा समाधान हुने भन्दै संसदमा नै बोल्न पाउने वातावरण बनाउन समिति सदस्यहरूलाई आग्रह गरेका छन्। उनले संसदमा आफूले सम्पूर्ण प्रश्नहरूको उत्तर दिने प्रतिबद्धता पनि जनाए।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया