काठमाडौं । हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिको आजको बैठक अव्यवस्थित र होहल्लायुक्त बनेपछि कार्यक्रम तय नगरी स्थगित गरिएको छ।
बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा केही कार्यकर्ताले होहल्ला गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन किन आएका छैनन्? भनेर नाराबाजी गरे। त्यसबेला लिङ्देन संसद्को बैठकमा सहभागी थिए।
कमल थापाले मन्तव्य दिन थालेकै बेला उत्पन्न अव्यवस्थित अवस्थालाई सम्हाल्ने प्रयास गर्दै समितिका संयोजक नवराज सुवेदीले माइक समात्दै बैठक स्थगित भएको घोषणा गरे। उनले आन्दोलनका नयाँ कार्यक्रम चाँडै सार्वजनिक गरिने जानकारी पनि दिए।
यसअघि सम्पन्न सातदिने पहिलो चरणको आन्दोलनपश्चात् नयाँ चरणको आन्दोलन तय गर्न ४४ वटा राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरुलाई समेटेर आज बैठक बोलाइएको थियो। संयोजक सुवेदीले बैठक orderly ढंगले सञ्चालन गर्ने प्रयास गरे पनि कार्यकर्ताबीचको असहमति र अव्यवस्थाका कारण बैठक निष्कर्षविहीन रह्यो।
संयुक्त जनआन्दोलन समितिले आगामी दिनमा साझा एजेण्डामा केन्द्रित भई थप सशक्त आन्दोलनको कार्यक्रम ल्याउने संकेत गरेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया