एजेन्सी । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले गाजाको वर्तमान अवस्थालाई ‘नर्कभन्दा पनि भयावह’ भनेको छ।
आईसीआरसीकी प्रमुख मिर्जाना स्पोलजारिकले जेनेभामा बीबीसीसँगको कुराकानीमा गाजाको स्थितिलाई “मानवताको हिसाबले हराएको” भन्दै चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, “यो युद्ध अन्त्य गर्न, प्यालेस्टिनी जनताको असह्य पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले पर्याप्त पहल गरिरहेको छैन।”
आईसीआरसी विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा मानवीय सहायता पुर्याउने प्रमुख संस्था हो। हाल गाजामा यस संस्थाका करिब १३० जना कर्मचारी कार्यरत छन्, जसमा अधिकांश प्यालेस्टिनी नागरिकहरू छन्।
यसैबीच, सोमबार गाजामा रहेको राहत केन्द्रको छेउमा इजरायली गोलाबारी हुँदा कम्तीमा २७ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको पुष्टि भएको छ।
आईसीआरसीले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न र नागरिक सुरक्षामा प्राथमिकता दिन आग्रह गरेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया