काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अघि बढाइएको दाबी गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले अध्यक्ष नेपालसँग यसअघि बयान लिएको थियो भने अब १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गर्दै मुद्दा अगाडि बढाएको हो।
मुद्दा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।
यस घटनामा प्रतिक्रिया दिँदै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, “यो मुद्दा अख्तियारले लामो समयदेखि तामेलीमा राखेको थियो, अहिले भने प्रधानमन्त्रीकै निर्देशनमा सक्रिय रुपमा अघि बढाइएको देखिन्छ।”
उनका अनुसार, पतञ्जली कम्पनीलाई काभ्रेमा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा २०६६ साल माघ १८ गते मन्त्रिपरिषदबाट स्वीकृति दिइएको थियो। त्यसपछि २०६६ चैत ६ गतेको मन्त्रिपरिषद बैठकबाट उक्त जग्गा बिक्री गर्नेसमेत निर्णय भएको थियो।
पाण्डेले स्पष्ट पारे, “कम्पनीले ३३३ रोपनी जमिनमा आयुर्वेदिक कलेज र अस्पताल खोल्ने उद्देश्य देखाएर मुनाफारहित संस्था भनेर अनुमति लिएको थियो। तर, पछि उक्त उद्देश्य पूरा नगरी उक्त जग्गा बिक्रीका लागि मन्त्रिपरिषदमा प्रस्ताव ल्याएको थियो।”
उनका अनुसार, त्यसबेला कम्पनीले उक्त जमिन २२ करोड ५० लाख रुपैयाँमा बिक्री गर्ने बताएको र त्यसको सट्टामा केही नयाँ जमिन किनेको तथा केही किन्न बैनासमेत भएको देखिएकोले मन्त्रिपरिषदले स्वीकृति दिएको थियो।
पाण्डेले थप भने, “२०६६ मंसिर २५ मा अख्तियारले सरकारलाई पत्र पठाउँदै 209 नम्बर निर्णयअनुसार सो जग्गामा कुनै कारबाही आवश्यक छैन भनेर क्लिनचिट दिएको थियो। उजुरी तामेलीमा राख्नसमेत भनिएको थियो।”
उनले अहिले अचानक मुद्दा अघि बढाइनु राजनीतिक प्रतिशोधप्रेरित देखिएको आरोपसमेत लगाए।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया