काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुदेखि नै आफूविरुद्ध षड्यन्त्र गर्दै आएको आरोप लगाएका छन्।
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि रौतहटका पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले ओलीप्रति कडा आरोप लगाएका हुन्।
उनले भने, “उहाँ (ओली) सुरुदेखि नै मेरो विरुद्धमा लागिरहनुभएको छ। मेरो राजनीतिक जीवन समाप्त पार्ने उहाँको नियत रहँदै आएको छ। उहाँमा बदलाको भावना छ, जसका कारण पटक–पटक मलाई टार्गेट गर्ने प्रयास हुँदै आएको छ।”
पतञ्जलि प्रकरण : किन उठ्यो प्रश्न?
भारतको पतञ्जलि योगपीठले नेपालमा जडीबुटी खेती, आयुर्वेद अस्पताल तथा शिक्षालय सञ्चालनका लागि २०६४ सालमा काभ्रेपलाञ्चोकमा कम्पनी दर्ता गराएको थियो। परियोजना विस्तारका लागि आवश्यक जमिन हदबन्दीभन्दा बढी परेपछि पतञ्जलिले सरकारलाई हदबन्दी छुटको लागि आग्रह गरेको थियो।
त्यसपछि २०६६ साल माघ १८ गते, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जमिन हदबन्दी छुटमा खरिद गर्न अनुमति दिएको थियो। सो क्रममा करिब ६ सय रोपनी जग्गा खरिद गरिएको बताइन्छ।
तर, उक्त जमिन खरिदको केही समयपछि पतञ्जलिले ती जमिनहरू पुनः बिक्री गर्ने निर्णय गरेको थियो।
हालको कानुनी व्यवस्थाअनुसार, हदबन्दी छुटसहित लिइएको जमिन उत्पादनमूलक उद्योग वा व्यवसायबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न वा बिक्री गर्न पाइँदैन। साथै, कम्पनी विघटन भएमा त्यस्तो छुटको जग्गा स्वतः सरकारीकरण हुने व्यवस्था छ।
तर, २०६६ कै मन्त्रिपरिषद् निर्णयमार्फत पतञ्जलिलाई ती जमिनहरू बिक्री गर्न अनुमति दिइएको भेटिएपछि अख्तियारले यस विषयमा अनुसन्धान अघि बढाएको हो।
अख्तियारको मुद्दा र राजनीतिक प्रतिक्रियाहरू
पतञ्जलिलाई दिइएको हदबन्दी छुट, त्यसपछि गरिएको बिक्री अनुमति र त्यसमा संलग्न सरकारी निर्णयकर्ताहरूको भूमिकाबारे प्रश्न उठ्दै आएको छ। सोही क्रममा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित अन्य उच्चपदस्थ व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यस मुद्दामा राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको अध्यक्ष नेपालको दाबी छ। उनले यो कार्य केपी ओलीको दीर्घकालीन राजनीतिक प्रतिशोधको हिस्सा भएको स्पष्ट पारेका छन्।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया