काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालको पछिल्लो अभिव्यक्तिको खण्डन गरेका छन्।
पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको आरोप लगाएपछि बर्तौलाले ती दावीहरू निराधार र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका हुन्।
“माधव नेपालज्यूको अभिव्यक्ति प्रतिशोधपूर्ण र अतिरञ्जित छ,” बर्तौलाले भने, “अरू कुनै आधार नभएपछि लगाइएको आरोप जस्तो देखिन्छ। यस्ता अभिव्यक्तिले उहाँको स्वास्थ्यमा पनि नकारात्मक असर पुर्याउन सक्छ।”
बर्तौलाले संवैधानिक आयोगहरूले स्वतन्त्र रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने उल्लेख गर्दै त्यस्ता संवैधानिक निकायहरूको निर्णयमा प्रधानमन्त्रीलाई जोड्नु अनुचित भएको बताए।
उनले नेकपा एसका नेताहरूलाई आरोप–प्रत्यारोप र आक्रोशपूर्ण शैलीमा बोल्नुभन्दा संयमित र जिम्मेवार बन्न सुझाव दिएका छन्।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया