काठमाडौं ।  गृहमन्त्री रमेश लेखक शुक्रबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालय, हलचोकमा पुगेर सप्तरीमा बिहीबार दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिएका छन्।

गृहमन्त्री लेखकलाई सशस्त्र प्रहरी बलका निमित्त प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले घटनाको विस्तृत विवरण प्रस्तुत गरे। बैठकमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीले बेपत्ता घटनाको अवस्थाबारे जानकारी दिँदै, हाल सशस्त्र प्रहरी बलसँग उपलब्ध गोताखोर संख्या, विपद् उद्धारका लागि तालिम प्राप्त जनशक्ति तथा सञ्चालित गतिविधिहरूबारे समेत विस्तृत विवरण प्रस्तुत गरे।

advertisement

सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक एसएसपी नेत्र कार्कीले भर्चुअल माध्यममार्फत घटनासम्बन्धी जानकारी दिएका थिए।

बैठकमा गृहमन्त्री लेखकसँगै प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा, गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्य, सहसचिव रामचन्द्र तिवारीसहित मन्त्रालयका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

गृहमन्त्री लेखकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गोताखोर जस्तै जोखिमपूर्ण जिम्मेवारीमा खटिने सुरक्षाकर्मीको जीवन बीमालाई प्रभावकारी बनाउने विषयमा मन्त्रालयले थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अभ्यासकै क्रममा ज्यान गुमाउने राष्ट्रसेवकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोकलाई शक्तिमा रूपान्तरण गर्दै आगामी दिनमा अझ बढी सुरक्षा र सतर्कता अपनाउन जरुरी रहेको बताए।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com