काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध साँधेर मुद्दा दर्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीका पदाधिकारीसहितका नेताहरुसँगको छलफलपछि बोल्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले षड्यन्त्रमुलक ढंगबाट अध्यक्ष नेपालमाथि प्रतिशोध साँधिएको बताएका छन् । उनले आफूहरुको पार्टी सिध्यानका लागि पहिलादेखि नै प्रयास हुने गरेको उल्लेख गर्दै अहिले पार्टी अध्यक्षलाई षड्यन्त्रमुलक ढंगबाट मुद्दा दायर गरिएको बताए ।

advertisement

उनले षड्यन्त्रहरु पराजित गर्दै र प्रतिकार गर्दै अघि बढ्ने बताए । पार्टी अध्यक्षमाथि मुद्दा दायर गर्नु पार्टीलाई कमजोर बनाउने उद्देश्यप्रेरित रहेको उनकाे दाबी छ । उनका अनुसार अध्यक्ष नेपालले सार्वजनिक पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम नगरेकाे र आजसम्मको उनको व्यवहार, कार्यशैलीले विभिन्न ओहोदामा पुग्दा पनि निष्कलंक रहेकाे ज्वालाले बताए । साथै, अदालतबाट सफाई पाएर निस्किने विश्वास आफूहरुको रहेको पनि उनले बताए ।

उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा अध्यक्ष कमरेड काठमाडौं फर्किसकेपछि हामी उपलब्ध नेताहरु बस्यौँ, छलफल गरेका छौँ । यो घटनाको बारेमा विश्लेषण गरेका छौँ । हाम्रो पार्टी र नेताहरुका विरुद्धमा पहिलादेखि नै षड्यन्त्रहरु हुँदै आएका थिए । पहिलादेखि नै हामीमाथि प्रहार हुँदै आएको थियो । यस्ता षड्यन्त्रहरु पराजित, प्रतिकार गर्दै आयौँ । आज फेरि भ्रष्टाचारको मुद्दा अध्यक्ष कमरेडलाई दायर गरिएको छ । यो षड्यन्त्र राजनीतिक प्रतिशोध, पूर्वाग्रहका हिसावले हाम्रो पार्टीलाई कमजोर बनाउने उद्देश्यले गरेको छ । यसको विरोध गर्छौं प्रतिरोध गर्दछौँ । मुद्दा परिसकेपछि मुद्दाबाट हामी भाग्दैनौँ । हाम्रो पार्टीको अध्यक्षले कुनै त्यस्तो सार्वजनिक सम्पती दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गर्नुभएको छैन । आर्थिक चलखेल गर्ने काम गर्नुभएको छैन । आजसम्मको उहाँको व्यवहार, कार्यशैलीले विभिन्न ओहोदामा पुग्दा पसिन निष्कलंक छवि, स्वच्छ छवि लिएर उहाँ फर्किनुभएको छ । हामी शीर ठाडो पारेर यस्ता षड्यन्त्र पराजित गर्नसक्छौँ । कानूनी रुपमा पनि हामी यो प्रक्रियामा जान्छौँ । अदालतबाट क्लिन चिट लिएर निस्किन्छौँ । पार्टी पंक्तिमा भ्रम पर्नु पर्दैन, हाम्रो पार्टी पंक्ति निरन्तर रुपमा जुन सक्रियतका साथ अघि बढेको छ, त्यसरी नै अघि बढ्छ ।’

उपाध्यक्ष ज्वालाले मन्त्रिपरिषद्का नीतिगत निर्णयहरुमा अख्तियारले छानविन गर्न पाउने बाटो खुलेको बताए । अध्यक्ष नेपालमाथि योजनाबद्ध रुपमा फसाउने उद्देश्यबाट उक्त कदम चलाइएको ज्वालाकाे भनाइ छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com