भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यस्थित मानेसास पार्क सहरमा एकै परिवारका चार जना नेपाली मूलका व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृतकमध्ये दुई बालबालिका, एक महिला र एक पुरुष रहेका छन्। प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा शवहरू फेला परेको जनाउँदै यसलाई हत्यापछि आत्महत्या भएको आशंकासहित अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार, जुन ५ तारिख राति करिब १०:४० बजे लाने लेनको ९४०० ब्लकमा रहेको एक अपार्टमेन्टमा प्रहरी टोली पुग्दा चार शव भेटिएको थियो। अपार्टमेन्ट मालिकले भाडामा बसेका व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीहरू जब घरभित्र प्रवेश गरे, त्यहाँ ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षे बालकको शव फेला परेको हो।

advertisement

प्रहरीले घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा बाह्य व्यक्तिको संलग्नता नरहेको र घटना घरभित्रै सीमित पारिवारिक हत्या भएको प्रहरीको निष्कर्ष छ। तर, गोली चलाउने व्यक्तिको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन।

शवहरूलाई थप अनुसन्धानका लागि मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।

छिमेकीहरूका अनुसार, मृतक परिवार करिब छ महिनाअघि मात्र सो बस्तीमा सरेर आएको थियो। मानेसास पार्क उत्तर भर्जिनियामा अवस्थित एक सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा पर्ने प्रिन्स विलियम काउन्टीको बीच भागमा पर्छ।

प्रहरी अनुसन्धान जारी रहेको छ र घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारीमा छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com