धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताको आवश्यकतासँग प्रत्यक्ष जोडिएका सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारी संवेदनशील र उत्तरदायी बन्नुपर्नेमा जोड दिएकी छिन्।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका राहदानी सेवा कर्मचारीका लागि राहदानी विभागले धनगढीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले नागरिकको हक र सेवा प्रवाहबारे स्पष्ट धारणा व्यक्त गरिन्।

advertisement

उनले भनिन्, “आजको युगमा राहदानी कुनै विलासिता नभई प्रत्येक नागरिकको आधारभूत अधिकार बनेको छ। त्यसैले राहदानी सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बसेर नागरिकसँग प्रत्यक्ष सेवा सम्पर्कमा रहने तपाईंहरू सबैभन्दा जिम्मेवार हुनुहुन्छ। सेवाग्राहीको आवश्यकता बुझेर गम्भीर र उत्तरदायी रूपमा सेवा दिनुहोस्।”

संवेदनशील सेवामा संलग्न कर्मचारीहरूले नागरिकको समस्या र अपेक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले सेवा छरितो, प्रभावकारी र पहुँचयोग्य बनाउन सोच्नुपर्ने आवश्यकता औंल्याइन्।

सुदूरपश्चिम र अन्य दुर्गम जिल्लामा अझ सहज रूपमा सेवा पुर्‍याउने विषयमा सरकार निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै मन्त्री राणाले राहदानी लिन अब पहिलेको जस्तो जटिलता नरहे पनि सेवा प्रक्रियामा अझ सुधार आवश्यक रहेको बताइन्।

“सेवा प्रवाहमा केही ढिलाइ वा अव्यवस्था भएको भन्ने सुनेको छु। जनताले सरकारी सेवा छिटो र सहज रूपमा पाउने अपेक्षा गर्नु स्वाभाविक हो। त्यसैले सेवा सरल, सहज र प्रभावकारी बनाउन तपाईहरूको भूमिका महत्वपूर्ण रहनेछ,” उनले भनिन्।

त्यस्तै, राहदानी सेवामा देखिएका समस्या र सुधारको सम्भावनाबारे सुझाव दिन आग्रह गर्दै उनले भनिन्, “तपाईंहरूले जनताले भोगेका समस्या र सुधारको उपाय सरकारलाई जानकारी गराउनुहोस्। सरकार समयानुकूल सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ।”

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com