भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद डा. शेखर कोइरालाले मुलुक जटिल मोडमा पुगेकाले सत्ताको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक आर्थिक, राजनीतिक र सामाजिक रूपले संकटतर्फ जाँदैगरेको उल्लेख गर्दै यस्तो बेलामा कांग्रेसजस्तो मध्यममार्गी शक्तिले अगुवाइ गर्न आवश्यक रहेको धारणा राखे।
“देश अहिले अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको छ। हामी न दक्षिणपन्थी हौं, न वामपन्थी। उग्रवामपन्थी त झन् होइनौं। कांग्रेस नै एक मात्र सन्तुलित मध्यममार्गी पार्टी हो,” कोइरालाले भने, “यदि कुनै पनि मुलुकमा मध्यममार्गी शक्ति कमजोर भयो भने त्यो देश अराजकतामा जान्छ। त्यसैले आजको आवश्यकता सत्ताको चाबी कांग्रेसले सम्हाल्नु हो।”
उनले एमालेलाई आगामी मुख्य राजनीतिक प्रतिद्वन्द्वीका रूपमा चिनाउँदै, प्रतिपक्षप्रति स्पष्ट र न्यायोचित ढंगले प्रतिक्रिया दिनुपर्नेमा पनि जोड दिए।
“केही साथीहरू भन्छन्, किन खुलेर आलोचना गर्छौ ? एमाले भोलिको प्रतिस्पर्धी हो। उसले गलत गरे गलत भन्नुपर्छ, सही गरे सही भन्नुपर्छ,” उनले स्पष्ट पारे, “यदि कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने उनीहरू साँच्चिकै कांग्रेसका कार्यकर्ता मानिंदैनन्।”
डा. कोइरालाले पार्टीभित्र आत्ममूल्यांकन र स्पष्ट विचार आवश्यक रहेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न कांग्रेस जिम्मेवार हुनुपर्ने बताए।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया