काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अल्बर्टामा आयोजना हुने जी–७ शिखर सम्मेलनका लागि औपचारिक निमन्त्रणा पठाएका छन्। दुई देशबीच पछिल्लो समय सम्बन्ध चिसिएको भए पनि प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गरेका छन्, भनी सीएनएनले जनाएको छ।

गत वर्ष क्यानडामा भारतीय मूलका एक सिख क्यानाडियन नागरिक हरदीप सिंह निज्जरको हत्या र अन्य आपराधिक गतिविधिमा भारत संलग्न रहेको आरोपपछि दुवै देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरू निष्कासन गरेका थिए। यिनै कारणले क्यानडा–भारत सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको थियो।

advertisement

मोदीलाई दिइएको यो निमन्त्रणाले क्यानडाको वल्र्ड सिख अर्गनाइजेसन (WSO) मा असन्तोष चुल्याएको बताइएको छ। यसअघि उक्त संगठनले प्रधानमन्त्री कर्नीलाई मोदीलाई निमन्त्रणा नदिन भन्दै औपचारिक पत्र लेखेको थियो।

जी–७ शिखर सम्मेलन आउँदो जुन १५ देखि १७ तारिखसम्म हुनेछ। कर्नीले मोदीसँग फोन संवाद गर्दै उनलाई सम्मेलनमा सहभागी हुन अनुरोध गरेका थिए। संवादपछि पत्रकारहरूलाई जानकारी दिँदै कर्नीले भने, “भारत अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो, सबैभन्दा बढी जनसंख्या भएको देश हो र आपूर्ति श्रृंखलाको केन्द्रमा रहेको राष्ट्र हो।”

त्यस्तै, उनले भारतसँग कानुनको शासनसम्बन्धी विषयमा केही प्रगति भएको पनि उल्लेख गरे। “मैले प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गरेँ र उनले स्वीकार गरे,” कर्नीले स्पष्ट पारे।

मोदीले पनि कर्नीको फोनलाई सकारात्मक रूपमा लिँदै हालै सम्पन्न निर्वाचनमा उनको जितको लागि शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “भारत र क्यानडा जीवित लोकतन्त्रहरू हुन्, जो जनताबीचको गहिरो सम्बन्ध र आपसी सम्मानको आधारमा नयाँ ऊर्जा र सहकार्यका साथ अघि बढ्नेछन्। सम्मेलनमा भेटको प्रतिक्षामा छु।”

निज्जरको २०२३ मा ब्रिटिस कोलम्बियास्थित सिख मन्दिर नजिकै गोली हानी हत्या गरिएको थियो। भारतमा जन्मिएका निज्जर क्यानाडामा बसोबास गर्ने प्लम्बिङ व्यवसायी थिए, जसले स्वतन्त्र सिख राष्ट्र (खालिस्तान) निर्माणको अभियानको नेतृत्व गरिरहेका थिए। निज्जरको हत्यामा संलग्न रहेको आरोपमा चार जना भारतीय नागरिकमाथि अभियोग लगाइएको छ।

यसैबीच, वल्र्ड सिख अर्गनाइजेसन का कानुनी सल्लाहकार तथा प्रवक्ता बलप्रीत सिंहले मोदीलाई निमन्त्रणा गर्नु क्यानाडाका मूल्य र लोकतान्त्रिक आदर्शहरूको विश्वासघात भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com